‘अर्णव’ चक्रवात शक्तिशाली बन्दै, नेपालमा पनि भारी वर्षा र हिमपातको सम्भावना

‘अर्णव’ चक्रवात शक्तिशाली बन्दै, नेपालमा पनि भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवात शक्तिशाली बन्दै गएको छ। भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवातले तीव्रता बढाउँदै लगेकाले भारतको आन्ध्र प्रदेश र ओडिसाका तटीय क्षेत्रमा यसको प्रभाव पर्ने अनुमान गरिएको छ। यसले नेपालमा समेत वर्षा, हावाहुरी र हिमपात गराउन सक्ने भन्दै मौसमसम्बन्धी पूर्वानुमानमा ध्यान दिन आग्रह गरिएको छ।

भारतीय मौसम विज्ञान विभागका अनुसार सोमबार चक्रवात थप शक्तिशाली बनेको हो। सुरुमा पश्चिमतर्फ अघि बढेको यो प्रणाली मंगलबार आन्ध्र प्रदेश र यानमका तटीय क्षेत्रतर्फ सर्ने अनुमान गरिएको छ। विभागले चक्रवात तटीय क्षेत्र पार गर्ने क्रममा हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म पुग्न सक्ने र झोक्कासहित यसको गति प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्न सक्ने पूर्वानुमान गरेको छ।

चक्रवातको प्रभाव र अन्य मौसमी प्रणालीको अवस्थाका आधारमा नेपालमा पनि मौसम प्रभावित हुन सक्ने अनुमान गरिएको छ। उपलब्ध विवरणअनुसार बुधबार रातिदेखि यसको प्रभाव देखिन सक्ने र बिहीबारदेखि विभिन्न स्थानमा वर्षा हुन सक्ने सम्भावना औँल्याइएको छ।

हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम

‘अर्णव’ चक्रवातको सम्भावित प्रभावले वर्षा, हावाहुरी र चट्याङसँगै हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ। हिमपात तीव्र भएमा हिमआँधी र हिमपहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले हिमाली क्षेत्रमा यात्रा गर्ने तथा आरोहणमा जानेहरूले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।

मौसमसम्बन्धी पूर्वानुमानमा काठमाडौँ उपत्यकासहित कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शनिबारसम्म सतर्कता अपनाउन सुझाव दिइएको छ।

धानबाली भित्र्याउन र हिमाली यात्रा नगर्न सुझाव

सम्भावित वर्षाले कृषि क्षेत्रमा असर पार्न सक्ने भएकाले मौसम अनुकूल रहेको समयमा धानबाली भित्र्याउन सुझाव दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार सार्वजनिक गरेको पाँचदिने मौसमसम्बन्धी विवरणअनुसार बुधबारसम्म धानबाली भित्र्याउन किसानलाई आग्रह गरिएको छ।

त्यसैगरी, प्रतिकूल मौसमको सम्भावना रहेकाले हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणको योजना बनाएकाहरूलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण गतिविधिबाट टाढा रहन सुझाव दिइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

सम्भावित वर्षा, हावाहुरी र हिमपातका कारण जनजीवन, कृषि तथा यातायातमा असर पर्न सक्ने भएकाले आधिकारिक मौसम पूर्वानुमान र सरकारी निकायबाट जारी सूचनालाई नियमित रूपमा पछ्याउन आवश्यक छ।