साताको अन्तिम दिन सेयर बजार ओरालो, कारोबार रकम बढ्यो

साताको अन्तिम दिन सेयर बजार ओरालो, कारोबार रकम बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार ओरालो लागेको छ। अघिल्लो कारोबार दिन (बुधबार) २८०० विन्दुमाथि पुगेको नेप्से परिसूचक यस दिन ३८.१० अंकले घटेर २७८१ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.७४ अंक, फ्लोट इन्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०२ अंकले घटेका छन्।

तर, बजार घटेपनि कारोबार रकम भने बढेको छ। बुधबार ७ अर्ब ६८ करोडको कारोबार भएकोमा बिहीबार ८ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो। यस दिन ३२२ स्टकको ७८ हजार ३७९ पटकको कारोबारमार्फत १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन पनि विकास हाइड्रोपावरको शेयर लगातार सातौँ दिन सकारात्मक सर्किटमा पुगेको छ। यसको मूल्य ५१ रुपैयाँ ७० पैसा बढेर ५६८ रुपैयाँ ९० पैसामा पुगेको छ। अन्य बढेका स्टकहरूको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम छ। त्यसैगरी, ओरियन्टल होटलको शेयरमूल्य ४.७१ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट भोग्यो।

कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनी शीर्षमा रह्यो जसको ६५ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भयो। त्यसपछि हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट र युनाइटेड मोदी हाइड्रोपावर अगाडि परे।

उपसमूह सूचक हेर्दा, १३ उपसमूहमध्ये ११ उपसमूह ओरालो लागे भने म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूह मात्र सामान्य रूपमा बढे।
सबैभन्दा धेरै विकास बैंक उपसमूह २.३८ प्रतिशतले घट्यो भने वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले घटे। साताको अन्त्यसँगै लगानीकर्ताहरूमा केही निराशा देखिएको भए पनि कारोबार रकममा आएको वृद्धि बजारप्रतिको निरन्तर आकर्षणलाई संकेत गर्ने विश्लेषण गरिएको छ।