बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा जनताको निराशा चिर्ने, सुशासनको ग्यारेन्टी दिने र घुस नखाने नेताको क्रान्तिकारी कम्युनिष्ट पार्टी आवश्यक भएको बताएका छन्।
शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रियामा सम्बोधन गर्दै भुसालले हालका कम्युनिष्ट पार्टीहरू दलाल पूँजीवादको कब्जामा परेको आरोप लगाए।
‘जनतामा विकल्प छैन, नेताहरूको गुटबन्दीले अपमानित बनाएको छ, झुटले समाजलाई तरंगित पारेको छ,’ भुसालले भने, ‘समाज बौलाएको छ, निकास दिन अब वामपन्थी ध्रुवीकरण जरुरी छ।’
उनले व्यवस्था र संविधान फेरिए पनि दलहरूको ढाँचा, संरचना र तरिका नबदलिएपछि पुरानै दलाल पूँजीवादी प्रभाव कायम रहेको टिप्पणी गरे। भुसालका अनुसार देश अहिले नयाँ इतिहास बनाउने प्रसव पीडामा छ र यसको लागि वामपन्थी एकता अपरिहार्य छ।
‘पुरानोले काम नगरेको छ, नयाँले सिक्न सकेको छैन, यो अवस्था सर्पले काँचुली फेर्ने जस्तै हो,’ उनले भने, ‘पुराना मान्यता र भ्रम भत्काएर नयाँ मानक बनाउनुपर्छ।’
भुसालले माओवादीको जनयुद्ध र एमालेको बहुदलीय जनवाद दुवै दलाल पूँजीवादको भित्तामा ठोक्किएर घाइते भए पनि मुलुकको भाग्यका लागि युद्ध र शान्तिपूर्ण आन्दोलनको अनुभवलाई जोडेर अघि बढ्न सकिने धारणा राखे।
उनले पछिल्ला दिनमा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग भएको बहसलाई नयाँ पार्टी बनाउनका लागि नभई, सहि सिद्धान्त स्पष्ट पार्ने र विभाजन नभई एकता जुटाउने अभियानका रूपमा भएको बताए।
‘तीन जना मिलेर अर्को पार्टी बन्दैन,’ भुसालले भने, ‘कम्युनिष्ट आन्दोलनमा चिन्तित सबैले वडासम्म बहस गरौं।’
उनका अनुसार देउवा, ओली, प्रचण्ड, माधव नेपालदेखि रवि लामिछानेसम्मको नेतृत्वप्रति असन्तोष बढेको छ, त्यसैले अब नयाँ निकास आवश्यक छ। भुसालले साउन ६ गतेदेखि सुरु भएको बहस बुटवल आइपुग्दा गति लिएको उल्लेख गर्दै यसलाई देशव्यापी बनाउनुपर्ने धारणा राखे।





