१८ भदौदेखि निजी विद्यालय बन्द हुने, दोस्रो चरणका आन्दोलन कार्यक्रम सार्वजनिक

१८ भदौदेखि निजी विद्यालय बन्द हुने, दोस्रो चरणका आन्दोलन कार्यक्रम सार्वजनिक

काठमाडौं । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूले १८ भदौदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले आन्दोलनको दोस्रो चरणका कार्यक्रम पनि सार्वजनिक गरेका छन्।

संयुक्त संगठनका अनुसार पहिलो चरणको कार्यक्रम सकिएसँगै अब दोस्रो चरण अन्तर्गतका आन्दोलन यस प्रकार रहनेछन् :

-भदौ १२ : बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा सबै संस्थाका सदस्य विद्यालयहरूको सहभागितामा बृहत खबरदारी सभा। काठमाडौं उपत्यकामा माइतीघर मण्डलामा भेला भई यालीसहित कोण सभामा परिणत हुने।

-भदौ १४ र १५ : आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले तयारी बैठक गर्ने।

-भदौ १६ : बिहान ११ बजे देशभरका स्कूलबसहरूमा कालो झण्डा/ब्यानरसहित विद्यालय नजिकका चोकमा उतारी नगर परिक्रमा। काठमाडौं उपत्यकामा २७ किमी चक्रपथ वरिपरि याली, जिल्लामा प्रतिघण्टा २० किमीको गतिमा प्रदर्शन। यसमा सबै स्तरका पदाधिकारी, सदस्य, विद्यालय सञ्चालक र प्रिन्सिपलहरूको अनिवार्य उपस्थिति रहने।

-भदौ १७ : संस्थागत तयारी तथा समीक्षा बैठक।

-भदौ १८ : बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा पुनः बृहत खबरदारी सभा। काठमाडौं उपत्यकामा माइतीघर मण्डलाबाट याली गर्दै कोण सभामा परिणत हुने।

-भदौ १८ पछि पनि माग सम्बोधन नभएमा : अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने कार्यक्रम घोषणा गरिने।

निजी विद्यालय सञ्चालकहरूले विधेयकमा समावेश ‘गैरनाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’ प्रावधान हटाउनुपर्ने माग गर्दै आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन्।