राष्ट्रिय युवा नीति–२०८२: अब युवाको उमेर १८ देखि ३५ वर्ष मात्रै हुने

राष्ट्रिय युवा नीति–२०८२: अब युवाको उमेर १८ देखि ३५ वर्ष मात्रै हुने

काठमाडौं । सरकारले ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गर्दै युवाको उमेर सीमा १८ देखि ३५ वर्ष कायम गर्ने निर्णय गरेको छ। यसअघि लागू रहेको ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६ देखि ४० वर्ष तोकिएको थियो।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार नयाँ नीतिमा ‘नेपालको सन्दर्भ र अन्तर्राष्ट्रिय परिवेशअनुकूल १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानिनेछ’ भनेर स्पष्ट उल्लेख गरिएको छ।

२०७८ सालको जनगणना अनुसार नेपालमा १६–४० वर्ष उमेर समूहको जनसंख्या ४२.५६ प्रतिशत थियो। अब नयाँ नीतिअनुसार युवाको अद्यावधिक जनसंख्या छुट्टै निकालिने तयारी भएको छ।

बालबालिकासम्बन्धी ऐनमा १८ वर्षमुनिका व्यक्तिलाई बालक मानिने भएकाले १८ वर्षदेखि मात्रै युवा मानिएको हो। संयुक्त राष्ट्रसंघले १५–२४ वर्षलाई युवा भनेको छ भने भारतमा पनि यही मान्यता लागू छ।

यद्यपि ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ मा अझै पनि युवाको उमेर १६–४० वर्ष नै रहेको कार्यकारी उपाध्यक्ष बस्नेतले जानकारी दिए। उनका अनुसार नयाँ नीतिअनुसार अब कानूनी संशोधन अपरिहार्य छ।

प्रत्येक पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने प्रावधान भए पनि यो पटक १० वर्षपछि मात्र नीति संशोधन गरिएको हो।