विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटो मैले नै खोलेको हुँ : प्रचण्ड

विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटो मैले नै खोलेको हुँ : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कने बाटो आफूले खोलेको दाबी गरेका छन्।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई राजनीतिमा ल्याएको निर्णयकै परिणामस्वरूप भण्डारीलाई पनि फर्कन सहज भएको बताएका हुन्। उनले भने, ‘मैले उपराष्ट्रपतिजीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले प्रत्यक्ष वा परोक्ष रूपमा विद्याजीलाई पनि ढोका खोलिदिएको हो।’

प्रचण्डका अनुसार संविधान वा कानुनले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन रोक लगाएको छैन। तर, नेकपा एमालेले भने पार्टीको निर्णय अनुसार पूर्वराष्ट्रपतिलाई पुनः सक्रिय राजनीतिमा फर्कन नमिल्ने भन्दै विद्याको सदस्यता नवीकरण नगर्ने अडान लिएको छ।

उनले थपे, ‘विद्याजीलाई पार्टी सदस्यता ओलीजीकै सहमतिमा दिइएको थियो। चीन भ्रमणमा पनि सहमति थियो, तर फर्किएपछि मतभेद देखियो।’

विद्या भण्डारीले सदस्यता नपाएपछि आगामी राजनीतिक योजना (प्लान बी) के हो भन्ने पत्रकारको प्रश्नमा भने प्रचण्डले आफूलाई थाहा नभएको बताए। तर उनले वर्तमान गठबन्धन सरकारप्रति आम जनतामा असन्तुष्टि बढिरहेको भन्दै परिस्थितिले नयाँ राजनीतिक समीकरण जन्माउन सक्ने संकेत गरे।

अन्तर्राष्ट्रिय उदाहरण पेश गर्दै प्रचण्डले भने, “दुनियामा राष्ट्रपति भएर प्रधानमन्त्री हुने, प्रधानमन्त्री भएर राष्ट्रपति हुने वा यहाँसम्म कि मेयरसमेत हुने उदाहरण छन्। त्यसैले रोक्ने कुरा नै हुँदैन।”