ओलीले विद्यालाई भने – ‘अनुभव छैन, पार्टी चलाउने भ्रम नपाल्नुस्’

ओलीले विद्यालाई भने – ‘अनुभव छैन, पार्टी चलाउने भ्रम नपाल्नुस्’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतापछि एमाले केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशनका प्रतिनिधिलाई आफ्नै निवास बालुवाटारमा बुधबार साँझ लामो प्रशिक्षण दिएका छन्।

ओलीले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला सहित काठमाडौंबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिँदै पार्टीभित्र आफ्नो प्रतिस्पर्धी विद्या भण्डारीबाहेक कोही नभएको दाबी गरेका हुन्। निरौलाले ओलीले प्रशिक्षणमा राखेका विषयलाई ४८ बुँदामा संक्षेप गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। प्रशिक्षणको संयोजन नेता रामेश्वर फुँयालले गरेका थिए।

ओलीले प्रशिक्षणका क्रममा केही नेताले भण्डारीको फोटो राखेर धन्दा चलाएको भन्दै आक्रोस व्यक्त गरेका थिए। उनले विद्याले पार्टी सदस्यता च्यासलले खाएको भनाइ सत्य नभएको र उनले सदस्यताको लागि निवेदन नै नदिएको आरोप समेत लगाएका छन्।

त्यसैगरी उनले विगतमा बामदेव गौतमले पार्टी नफुटाएको भए एमालेले दुई तिहाइ मत पाउने दाबी गरेका छन्।

ओलीका अनुसार आफूले विद्यालाई बालुवाटारमा बोलाउँदा नभएको, पछि पार्टी कार्यालयमा भेट हुँदा ‘तपाईं सक्नुहुन्न, मलाई सहयोग गर्नुस्’ भनेको सुनाउँदै, आफूले विद्यालाई ‘अनुभव छैन, पार्टी चलाउने भ्रम नपाल्नुस्’ भनेर सम्झाएको बताए। उनले मदन भण्डारीको नाममा मात्रै राजनीति गर्न नसकिने सन्देश पनि दिएको उल्लेख गरेका छन्।

ओलीले विद्यालाई जति सम्मान आफूले गरेको भए पनि उल्टै अपमान भोग्नु परेको गुनासो गरे। उनले विद्याबाहेक पार्टीभित्र आफूलाई चुनौती दिने कोही नभएको र विद्याले साथ छाडे सबै मिल्ने दाबीसमेत गरे।

पूर्वराष्ट्रपतिबाट असोभनिय गतिविधि हुनु नहुने, फाउन्डेसनले जबज बचाउन नसक्ने, विद्या भण्डारीलाई उचालेर ईश्वर पोखरेलले बाटो बिराएको जस्ता टिप्पणीसमेत ओलीले प्रशिक्षणमा गरेका थिए।

विधान महाधिवेशनबारे ओलीले एक दिन दस्तावेज प्रस्तुत हुने, अर्को दिन छलफल चल्ने र अन्तिम दिन समापन हुने पूर्वानुमान गरेका छन्। उनले विधान महाधिवेशन एकताको महाधिवेशन हुने चेतावनी दिंदै अन्यथा गर्नेहरुसँग हिसाबकिताब हुने बताए। त्यसैगरी उनले पार्टीका साथीहरूको चाहनामा आधारित भएर ७९ वर्षे उमेर हद हटाइएको र आफू अझै स्वस्थ रहेको पनि बताए।