

काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग लगातार दोस्रो हार व्यहोरेको छ। बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल ४–१ गोलअन्तरले पराजित भयो। यससँगै नेपाल प्रतियोगिताको उपाधि दौडबाट पनि बाहिरिएको छ।
बंगलादेशका लागि सोरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दै टिमलाई सहज जित दिलाइन्। खेलको ३८औं मिनेटमा पहिलो गोल गर्दै प्रीतिले खाता खोलेकी थिइन् भने ४५औं मिनेटमा दोस्रो गोल गरिन्। तर, पहिलो हाफको इन्जुरी समयमा नेपालले गोल फर्काउँदै खेललाई २–१ मा पुर्याएको थियो।
तर, दोस्रो हाफमा बंगलादेश अझ प्रबल देखियो। खेलको ७३औं र ८७औं मिनेटमा थप दुई गोल गर्दै ४–१ को फराकिलो जित दर्ता गर्यो।
यसअघि नेपाल पहिलो खेलमा भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा भने भुटानलाई २–१ ले हराउँदै पहिलो जित दर्ता गरेको थियो। तर, तेस्रो खेलमा फेरि बंगलादेशसँग ३–० ले हार मान्नु पर्यो।
चार टोली सहभागी प्रतियोगितामा भारत, बंगलादेश, भुटान र नेपालबीच लिग चरणमा प्रतिस्पर्धा भइरहेको छ। सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि हात पार्ने प्रावधान छ।
नेपालले अब बाँकी खेलमा भारत र आयोजक भुटानसँग प्रतिस्पर्धा गर्नेछ।