

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर विद्युतीय अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौंले बुधबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
साइबर ब्यूरो, भोटाहिटीमा परेको उजुरीअनुसार महरमाथि चरित्रहत्या र गाली–बेइज्जती गरेको आरोप छ। पीडितले हुलाकमार्फत दिएको निवेदनपछि ब्यूरोले प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका महरलाई थप अनुसन्धानका लागि बुधबार नै जिल्ला अदालत, काठमाडौंमा पेश गरिएको छ। अदालतले म्याद थप गर्ने प्रक्रिया अघि बढाइरहेको बताइएको छ।
यता, एमालेभित्र महरको गिरफ्तारीलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन्। पार्टीका केही नेताले कानूनी प्रक्रियामार्फत सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताइरहेका छन्।