नेप्से ११ कारोबार दिनपछि २८०० विन्दुमाथि, कारोबार रकम झण्डै ८ अर्ब

नेप्से ११ कारोबार दिनपछि २८०० विन्दुमाथि, कारोबार रकम झण्डै ८ अर्ब

काठमाडौं । नेप्से परिसूचक बुधबार उच्च अंकले उकालो लाग्दै ११ कारोबार दिनपछि २८०० विन्दुभन्दा माथि पुगेको छ। यसअघि गत साउन २६ गते नेप्से २८०० विन्दुभन्दा माथि बन्द भएको थियो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यस दिन परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा पुग्यो। त्यस्तै सेन्सेटिभ इन्डेक्स ८.५२ अंकले, फ्लोट इन्डेक्स ३.५५ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०६ अंकले बढेको छ।

कारोबार रकम झण्डै ८ अर्ब

बजार बढेसँगै कारोबार रकममा पनि ठूलो उछाल आएको छ। मंगलबार ४ अर्ब १८ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा यस दिन ३२१ कम्पनीका १ करोड ४९ लाख ८६ हजार कित्ता सेयर ७२ हजार ५२८ पटकको कारोबारमार्फत ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको छ।

कम्पनीगत उतारचढाव

विकास हाइड्रोपावरको सेयर बुधबार पनि लगातार सकारात्मक सर्किटमा पुग्दै ४७ रुपैयाँले बढेर ५१७ रुपैयाँ २० पैसामा बन्द भएको छ। समता लघुवित्त वित्तीय संस्थाको सेयर करिब साढे ९ प्रतिशतले बढ्यो भने ग्रीन भेन्चर्सको मूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लाग्यो।

तर, १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य भने सर्वाधिक ५.७९ प्रतिशतले घट्यो।

कारोबार रकममा हिमालयन रिइन्स्योरेन्स शीर्ष

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको साढे ५५ करोड रुपैयाँको र ग्रीन भेन्चर्सको साढे ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।

सबै उपसमूह हरियो

बुधबार सबै १३ उपसमूहमा हरियाली छायो। विकास बैंक उपसमूह ३.४० प्रतिशतले सर्वाधिक बढ्दा लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूह २ प्रतिशतभन्दा बढीले बढे। बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागे।