

काठमाडाैं: नेपालले भुटानमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपमा आज अर्को खेल खेल्दैछ। थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ।
नेपालले यसअघिका तीन खेलमध्ये दुईमा हार बेहोरेको छ भने एक खेलमा जित हासिल गरेको छ। पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली भुटानलाई २–१ ले हराएको थियो। तर तेस्रो खेलमा बंगलादेशसँग ३–० को हार बेहोरेको थियो। यसरी ३ खेलमा नेपालले मात्र ३ अंक बनाएको छ। ११ गोल खाए पनि केवल २ गोल मात्र गरेकोले नेपाली फर्वार्ड टोलीमाथि गोल गर्ने दबाब रहेको छ।
विगतका खेलमा बंगलादेशले भुटानलाई ३–१ ले पराजित गरेको थियो भने भारतसँग २–० ले हार बेहोरेको थियो। ३ खेलमा बंगलादेशले ६ अंक बनाएको छ भने भारत लगातार तीन खेल जितेर ९ अंक बनाएको छ।
प्रतियोगितामा नेपाल, भुटान, बंगलादेश र भारत गरी चार टोली सहभागी छन्। डबल राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष टोली च्याम्पियन घोषणा हुनेछ। आजको खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्दै जित हासिल गर्नुपर्ने चुनौती रहेको छ।