गणेश चतुर्थीमा देशभर गणेश मन्दिरमा श्रद्धालुको भीड

गणेश चतुर्थीमा देशभर गणेश मन्दिरमा श्रद्धालुको भीड

काठमाडौं । अग्रपूजाका अधिकारी भगवान् गणेशको पूजा–आराधना गरी आज देशभर गणेश चतुर्थी पर्व मनाइँदैछ। यस अवसरमा गणेश मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्व सत्ययुगमै भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यतामा आधारित छ। आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायतका मन्दिरमा विशेष पूजा गरी गणेश जन्मोत्सव मनाइएको छ।

शिव–पार्वतीका पुत्र गणेशलाई सबै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। गणेश पुराणका अनुसार भाद्र शुक्ल तृतीयामा सुखद दाम्पत्य जीवन र सुखशान्तिको कामना गर्ने व्रतालुले चतुर्थीका दिन गणेश पूजा गरी जीवनमा बिघ्न नआओस् भन्ने कामना गर्ने प्रचलन छ।

आज हरितालिका तीजको व्रत सम्पन्न गर्ने दिन पनि भएकाले गणेश व्रतसहित महिलाहरूले विशेष पूजा–अर्चना गरेका छन्।