आज देशभर वर्षाको सम्भावना, कोशी–गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने चेतावनी

आज देशभर वर्षाको सम्भावना, कोशी–गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ दक्षिणतिर सरेको र पश्चिमतर्फ सामान्य अवस्थामा रहेको जानकारी दिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारण बदली रहनेछ भने कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहितका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागमा साधारण बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा र कोशी, गण्डकी र लुम्बिनीका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

महाशाखाले लगातारको वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने, ठूला–साना नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुनसक्ने भन्दै सतर्क रहन र पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ।