आजदेखि अमेरिकामा भारतीय सामानमा ५० प्रतिशत भन्सार कर लागू

आजदेखि अमेरिकामा भारतीय सामानमा ५० प्रतिशत भन्सार कर लागू

वासिङटन डिसी । अमेरिकाले भारतबाट आयात हुने सामानमा कुल ५० प्रतिशत भन्सार कर लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा रुसबाट तेल खरिद गरेको कारण भारतमाथि जरिवाना स्वरूप २५ प्रतिशत थप शुल्क घोषणा गरेका थिए। यसअघि नै २५ प्रतिशत कर लगाइसकेकाले अब कुल भन्सार ५० प्रतिशत पुगेको हो।

अमेरिकी समयअनुसार अगस्ट २७ बिहानदेखि लागू भएको यो नियमअनुसार भारतबाट आउने सामानमा सूचीबद्ध महसुल उठाइनेछ। यसले मुख्यतया गहना, कपडा, अटोमोबाइल र समुद्री खानेकुरा उद्योगमा ठूलो असर गर्ने अनुमान गरिएको छ। विज्ञहरूका अनुसार यस कदमले भारतको करिब ४८ अर्ब डलरभन्दा बढीको निर्यात प्रभावित हुनेछ।

तर, आईटी सेवा, औषधि र इलेक्ट्रोनिक्स उद्योगलाई भने यो शुल्कले असर गर्ने छैन। इलेक्ट्रोनिक्सलाई धारा २३२ अन्तर्गत छुट दिइएको छ भने फार्मा क्षेत्रमा हाल ट्यारिफ शून्य प्रतिशतमै छ। त्यसैले एप्पल र सामसुङजस्ता स्मार्टफोनको अमेरिकी बजारमा निर्यात यथावत रहनेछ।

व्यापार सम्झौता नभएसम्म भारतीय सामान अमेरिकामा महँगो हुने भएकाले अर्डर घट्ने, उत्पादन कम हुने र रोजगारी गुम्ने खतरा बढेको विश्लेषकहरूको भनाइ छ।