अस्ट्रेलिया टुर : एसीटीलाई हराउँदै नेपाल लगातार दोस्रो जित

अस्ट्रेलिया टुर : एसीटीलाई हराउँदै नेपाल लगातार दोस्रो जित

काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्धको दोस्रो अभ्यास टी–२० खेलमा पनि विजय हासिल गरेको छ।

नेपालले एसीटीलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको हो। ९७ रनको साधारण लक्ष्य नेपालले १३.२ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित ४२ रन बनाए भने गुल्शन झाले २३ रनको योगदान दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमै ९६ रनमा अलआउट भएको थियो। नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान ४–४ विकेट लिए भने कप्तान रोहित पौडेल र गुल्शन झाले १–१ विकेट जोडे।

यसअघि केही घण्टा अघि सम्पन्न पहिलो अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको थियो।

नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने तय छ। अब नेपालले २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाविरुद्ध दुई टी–२० र एक वान डे खेल्नेछ।

टप एन्ड टी–२० सिरिजमा ११ टिममध्ये आठौं स्थानमा रहेपनि नेपालले आगामी विश्वकप छनोटको तयारीलाई ध्यानमा राखी अस्ट्रेलिया टुरलाई विशेष महत्त्व दिएको छ।