अष्ट्रेलियन एसिटीसँगकाे अभ्यास खेलमा नेपाल ४१ रनले विजयी

अष्ट्रेलियन एसिटीसँगकाे अभ्यास खेलमा नेपाल ४१ रनले विजयी

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटरी (एसिटी)लाई ४१ रनले पराजित गरेको छ ।

१ सय ७८ रनको लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रनमै समेटियो । सन्दीपले ४ ओभरमा ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसीले २ तथा रुपेश सिंह, गुलशन झा र कुशल भुर्तेलले समान १ विकेट हात पारे ।

एसिटीका जे स्मिथले सर्वाधिक ५० रन बनाए भने के ब्रुनकरले नटआउट २७ र के केओगले २५ रन जोडे । अन्य ब्याटरहरू भने प्रभावकारी हुन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको उत्कृष्ट अर्धशतकमा २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रन जोडेको थियो । आसिफले ३९ बलमा ५ छक्का र ४ चौकासहित सर्वाधिक ६९ रनको योगदान दिए । कप्तान रोहित पौडेलले २८ बलमा ३६ रन बनाए ।

आरिफ शेखले २४, दीपेन्द्र सिंह ऐरीले २१, गुलशन झा ८* रनमा नटआउट रहे भने ओपनर कुशल भुर्तेल ७ रनमै सीमित भए । भीम सार्की, लोकेश बम र रुपेश सिंह शून्यमा आउट भए । एसिटीका इभान, रहमान, दुबे र ब्रुनकरले समान २–२ विकेट हात पारे । टप एन्ड टि-ट्वान्टी सिरिजको समूह चरणबाट बाहिरिएपछि नेपालले खेलेको यो पहिलो अभ्यास खेल हो ।