हरितालिका तीज : महिलामात्र नभई पुरुषले पनि व्रत बस्नुपर्ने

हरितालिका तीज : महिलामात्र नभई पुरुषले पनि व्रत बस्नुपर्ने

काठमाडौं । आज भाद्र शुक्ल तृतीयामा हरितालिका तीज पर्व महादेव–पार्वतीको पूजा आराधना गर्दै मनाइँदैछ । पारिवारिक सुख, शान्ति र कल्याणका लागि यो व्रत गरिन्छ भन्ने धार्मिक विश्वास छ ।

पौराणिक कथाअनुसार सत्ययुगमा पार्वतीले गौरीघाटमा निराहार व्रत गरेर महादेवलाई पतिका रूपमा प्राप्त गरेकी थिइन् । पार्वतीलाई उनका साथीहरूले पिता हिमालयले विष्णुसँग जबर्जस्ती विवाह गर्न खोजेपछि लुकाइदिएको र त्यही स्थानमा उनले तपस्या गरेर वरदान प्राप्त गरेको मानिन्छ । त्यसैले ‘हरित’ (हरण गरिएको) र ‘आलिका’ (साथी) शब्द मिलेर बनेको हरितालिका व्रतको प्रचलन सुरु भएको धर्मशास्त्रले बताउँछ ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार व्रत तीन किसिमका हुन्छन्– निराहार, जलाहार र फलाहार । स्वास्थ्य अनुसार जसले सक्छ, त्यसरी व्रत बस्न सकिन्छ । उनका अनुसार तीज केवल श्रीमान्को दीर्घायुका लागि मात्र नभई अटल सौभाग्य, सन्तान प्राप्ति, र अविवाहितका लागि असल वर–वधु प्राप्तिको पनि उद्देश्य बोकेको छ ।

त्यस्तै प्रा. डा. देवमणि भट्टराईले व्रत पुरुषले पनि बस्न सक्ने बताए । व्रत नित्य र काम्य दुवै किसिमको भएकाले महिलामात्र नभई पुरुषले पनि लिनुपर्ने धर्मशास्त्रीय मान्यता रहेको उनको भनाइ छ ।

तीज पर्व सोमबार राति दर खाएपछि औपचारिक रूपमा सुरु हुन्छ र ऋषि पञ्चमीसम्म चल्छ । आज हरितालिका व्रत बसेपछि भोलि गणेश पूजा र पञ्चमीका दिन स्नान गरी सप्तऋषि तथा अरुन्धतीको पूजा गरेर तीज समापन हुन्छ ।

धर्मशास्त्री र संस्कृतिविद्हरूका अनुसार पछिल्ला वर्षहरूमा तीजमा देखिएको तडकभडक र गरगहना–पोशाक प्रदर्शनले संस्कृतिमा विकृति ल्याएको छ । तीज मूलतः परिवारको सुख, शान्ति र मनोकामना पूर्ण गर्ने धार्मिक व्रत भएकाले यसको मौलिकता जोगाउनुपर्नेमा उनीहरूको जोड छ ।