

काठमाडौं । हरितालिका तीजको अवसरमा भक्तजनलाई सहज रूपमा पशुपतिनाथको दर्शन गर्न सक्ने गरी मूल मन्दिरका ४ वटै ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य–सचिव सुभासचन्द्र जोशीका अनुसार ढोका खुलासँगै दर्शनार्थीलाई आवश्यक सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद, आकस्मिक स्वास्थ्य सेवा, जुत्ताचप्पल राख्ने स्थान, भजन–कीर्तन, दिपावली र गौदान गर्ने ठाउँजस्ता व्यवस्थासमेत मिलाइएको छ ।
भक्तजनलाई बाहिरी क्षेत्रमा चार लाइनमार्फत प्रवेश र निस्कने व्यवस्था गरिएको छ । गौरीघाट, मित्रपार्क, पिङ्गलास्थान र तिलगङ्गाबाट क्रमशः चारवटा लाइनको प्रवेशमार्ग बनाइएको छ । मन्दिरभित्र भने आठवटा लामको व्यवस्था छ ।
श्रीयन्त्र पूजाको समयमा पनि भक्तजनले बाहिरबाटै दर्शन गर्न सक्ने गरी जाली राखिएको छ । दर्शनपछि भक्तजनलाई विभिन्न स्थानमा चन्दन वितरणको व्यवस्था गरिएको कोषले जनाएको छ ।
तेस्रो मुलुकका पर्यटकलाई भने प्रवेश शुल्क तिरेर मन्दिर प्राङ्गण बाहेकका स्थान अवलोकन गर्न दिइनेछ । भक्तजनलाई बहुमूल्य गरगहना र साना बालबालिका लिएर दर्शनमा नआउन अनुरोध गरिएको छ ।
दैनिक दर्शनार्थीलाई बिहान साढे ५ बजेसम्म ४ वटै ढोकाबाट जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको छ । साथै, कुनै प्रकारको पास प्रणाली लागू नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए ।