मनाङ प्रदेशसभा-२ मा कात्तिक १७ गते उपनिर्वाचन

मनाङ प्रदेशसभा-२ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने जनाएको छ।

यसअघि सो क्षेत्रबाट निर्वाचित दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त सम्बन्धी सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदा आयोग अन्योलमा परेको थियो। रुपन्देही–३ को उपनिर्वाचन मिति तोकिए पनि मनाङमा भने निर्णय गर्न ढिलाइ भएको थियो।

सर्वोच्च अदालतले सोमबार पूर्णपाठ सार्वजनिक गरेपछि आयोगले मनाङमा पनि सोही दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब दल दर्तादेखि निर्वाचन तयारीसम्मका प्रक्रिया छोट्याएर भएपनि कात्तिक १७ कै मिति कायम गरिनेछ।

यसअघि आयोगले रुपन्देही–३ का लागि दल दर्ता र चुनाव चिह्न वितरणको काम पूरा गरिसकेको छ।