

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। सो आदेशविरुद्ध सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट दर्ता भएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने गत चैत २५ देखि नख्खु कारागारमा रहेका छन्। हालको आदेश बदर गरिपाउन भन्दै दर्ता गरिएको रिटबारे उच्च अदालतले छिनोफानो गर्नेछ।
यसअघि लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै, बचतकर्ताको रकम फिर्ता गर्न प्रतिवद्ध रहेको र आफ्नो हिस्साको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गरेका थिए। उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत साउन १९ गते जिल्ला अदालतमा बुझाएका थिए।
सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरिसकेको छ।