वीरगञ्जमा हैजाको सङ्क्रमण बढ्दै, स्रोत अझै पत्ता लागेन

वीरगञ्जमा हैजाको सङ्क्रमण बढ्दै, स्रोत अझै पत्ता लागेन

पर्सा । वीरगञ्ज महानगरका विभिन्न वडामा समुदायस्तरमै हैजाको सङ्क्रमण फैलिएको छ। गएकाे शुक्रबारदेखि संक्रमित भेटिँदै आएका भए पनि यसको मूल स्रोत भने अझै पहिचान हुन सकेको छैन।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला परेका छन्। ‘आइतबार बेलुकीसम्म ७१ जना भेटिएका थिए, सोमबार बिहान थप ८ जना भेटिएका छन्,’ उनले जानकारी दिए।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का प्रतिनिधिहरू आइतबारदेखि वीरगञ्जमा पानीको परीक्षणलगायतका काम गरिरहेका छन्। ठाकुरले आजभित्रै स्रोत पत्ता लाग्ने अपेक्षा गरिएको बताए।

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा मात्रै ३० जना बिरामी भर्ना भएको जानकारी दिए। उनले उपचारका लागि शय्या र जनशक्ति दुवै अभाव रहेको बताउँदै, कागजी रूपमा सहयोगका आश्वासन आए पनि व्यवहारिक सहयोग अझै नपुगेको गुनासो गरे।

डा. सिंहका अनुसार अस्पतालमा हैजासँगै अन्य महामारी र बिरामीको चाप पनि बढिरहेको छ। ‘सर्पदंश, ज्वरो, प्यारालाइसिसलगायतका बिरामी पनि प्रशस्त छन्। जनशक्ति अभावले व्यवस्थापन कठिन भएको छ,’ उनले भने।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा मात्रै २६ जना कलेरा संक्रमित फेला परेका छन्। त्यस्तै, तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना र वीरगञ्जका अन्य स्वास्थ्य संस्थाहरू (वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्पताल, मङ्गलम प्याथोलोजी) मा २/२ गरी ८ जना संक्रमित भेटिएका छन्। सोमबार बिहान थप ८ जना संक्रमित फेला परे पनि कुन अस्पतालमा परीक्षण भएको भन्ने विवरण खुलेको छैन।

स्वास्थ्यकर्मीहरूले चाँडै स्रोत पहिचान गरी नियन्त्रण र उपचारका लागि आवश्यक सहयोग सुनिश्चित गर्न सरकार र सरोकारवालासँग आग्रह गरेका छन्।