अनेरास्ववियु मोरङमा दुई संयोजक तोकिँदा चर्कियाे विवाद

अनेरास्ववियु मोरङमा दुई संयोजक तोकिँदा चर्कियाे विवाद

विराटनगर । अनेरास्ववियु मोरङमा एकैपटक दुई जना संयोजक तोकिएपछि विवाद चर्किएको छ। संस्थापन पक्षले एलिस ओझालाई संयोजक घोषणा गरे पनि संस्थापन इतर समूहले संगम कन्दङ्वालाई संयोजक बनाएको छ।

शनिबार एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा बसेको अनेरास्ववियु जिल्ला कमिटी बैठकमा संयोजक चयनको विषयमा विवाद भएपछि बैठक निष्कर्षमा पुग्न सकेको थिएन। बैठकमा संयोजक वीरेन्द्र घिमिरेको उमेरबारे विवाद उत्पन्न भई उनी बैठकमै बाहिरिएका थिए।

त्यसपछि इतर समूहले उपाध्यक्ष समेत रहेका कन्दङ्वालाई संयोजक तोकेको हो। तर घिमिरे पक्षले आफूलाई बेवास्ता गर्दै अवैधानिक रूपमा निर्णय भएको भन्दै एलिस ओझालाई संयोजक घोषणा गरेको जनाएको छ।

यसअघि पनि अनेरास्ववियु मोरङ नेतृत्वमा विवाद हुँदै आएको थियो। एमाले मोरङका उपाध्यक्ष सागर थापाले भने बैठकले चयन गरेको संयोजक नै आधिकारिक हुने बताए।