

मोरङ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजक चयनमा विवाद उत्पन्न भएको छ ।
एकातिर अखिल मोरङ जिल्ला कमिटीको शनिबार विराटनगरमा सम्पन्न बैठकले उपाध्यक्ष रहेका एलिस ओझालाई नयाँ संयोजक बनाएको घोषणा गरेको छ भने अर्कोतर्फ एमाले जिल्ला कमिटी र केही नेताहरूको सहभागितामा भएको भेलाले संगम कन्दङ्गवालाई संयोजकको जिम्मेवारी दिएको दाबी गरेको छ ।
अखिलका जिल्ला अध्यक्ष विरेन्द्र घिमिरेले उमेर हद ३२ वर्ष नाघेकाले आफूले पद छोड्नुपर्ने अवस्था आएको र त्यसपछि उपाध्यक्ष ओझालाई संयोजकको जिम्मेवारी सुम्पिएको जानकारी दिएका छन् । ओझा सुकुना बहुमुखी क्याम्पस स्ववियु सभापति समेत हुन् ।
तर, सोही दिन केन्द्रिय सदस्य प्रिती दाहालको प्रमुख आतिथ्यतामा भएको अर्को भेलाले भने केराबारीको खदम क्याम्पस स्ववियु सभापति संगम कन्दङ्गवालाई संयोजक चयन गरेको घोषणा गरेको हो । यस निर्णयमा एमाले मोरङ जिल्ला कमिटी उपसचिव सन्तोष वान्तवा र अखिल कोशी प्रदेश कमिटी सह–संयोजक नवराज घिमिरेलगायत नेताहरू संलग्न थिए ।
मोरङ एमालेमा संस्थापन पक्ष र इतरबीच लामो समयदेखि विवाद रहँदै आएको छ । पछिल्लो घटनालाई पनि सोही गुटबन्दीको परिणामको रूपमा हेरिएको छ । एलिसका पिता राजकुमार ओझा विगतमा मोरङ जिल्ला अधिवेशनमा पराजित भएका थिए भने संगमलाई संस्थापन–इतर पक्षलाई काउन्टर दिन संयोजक बनाइएको टिप्पणी गरिएको छ ।
जिल्ला तहमा देखिएको दुई निर्णयका कारण विवाद चुलिएको छ भने समाधानका लागि छलफल सुरु भएको एमाले नेताहरूले जनाएका छन् ।