

काठमाडौं : नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार यी भेटवार्तामा नेपाल–भियतनामबीचको आपसी सम्बन्ध सुदृढीकरण र सहकार्यका विभिन्न आयाममा छलफल हुनेछ । सुआन नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सव समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।
उपराष्ट्रपति यादवको औपचारिक निमन्त्रणामा सुआन शनिबार नेपाल आएकी हुन् । भियतनामबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । आगमनको दिनमै उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । सो अवसरमा मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा उडान सञ्चालन गर्न प्रस्ताव राखेकी थिइन्, जसले भियतनामी पर्यटक आगमन बढाउने अपेक्षा गरिएको छ ।
यो प्रस्तावबारे विस्तृत छलफल आज हुने उपराष्ट्रपति यादव र प्रधानमन्त्री ओलीसँगको भेटमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सुआन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछिन् । त्यसबाहेक उनले पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूपलगायत ऐतिहासिक तथा धार्मिक स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमण सकेर उनी स्वदेश फर्किनेछिन् ।