उखु किसानको आन्दोलन आजबाट काठमाडौं केन्द्रित

उखु किसानको आन्दोलन आजबाट काठमाडौं केन्द्रित

पश्चिम नवलपरासी । सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका किसानहरू आजदेखि काठमाडौँमा केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।

नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवका अनुसार आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध जारी रहनेछ । अनुदान निरन्तरता माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू राजधानीमा भेला भएका छन् ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले उखुमा अनुदानका लागि रकम विनियोजन नगरेकोमा किसानहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । महासंघका अनुसार हालसम्म सरकारले करिब एक अर्ब ६० करोड रुपैयाँ अनुदान भुक्तानी गर्न बाँकी छ ।

गत वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६५५ रुपैयाँ तोकिँदा उद्योगले ५८५ र सरकारले ७० रुपैयाँ अनुदान दिने व्यवस्था थियो । तर बजेट अभाव देखाउँदै सरकारले यो वर्ष अनुदान रकम घटाएर प्रतिक्विन्टल ३५ रुपैयाँ मात्र दिने निर्णय गरेको छ । किसानहरूले यसलाई अस्वीकार गर्दै पुरानै ७० रुपैयाँ कायम गर्न माग गरेका छन् ।

यादवका अनुसार अनुदान कटौतीले किसानहरू निराश भएका छन् र उखु खेती विस्तार गर्ने उत्साहमा ठेस पुगेको छ । उनले यसले उत्पादनमा कमी ल्याउने र किसानलाई खेतीमै पलायन गर्न बाध्य पार्ने चेतावनी दिए ।

किसानहरूले सरकारलाई तत्काल बक्यौता रकम भुक्तानी गर्न र अनुदान निरन्तरता सुनिश्चित गर्न दबाब दिइरहेका छन् ।