

काठमाडौं : अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० सिरिजमा नेपालले शुक्रबार पाकिस्तान शाहीन्ससँग रोमाञ्चक खेलमा १ रनले पराजय भोगेको छ । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले ६ खेलमा दुई जित र चार हारसहित जम्मा ४ अंक जोड्न सफल भएको हो । यसअघि नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बंगलादेश ‘ए’सँग ३२ रन र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । भने, होबर्ट हुरिकेन्स एकेडेमीमाथि ६६ रन र मेलबर्न रेनेगेड्स एकेडेमीमाथि ३३ रनले जित निकालेको थियो ।
शुक्रबार डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा पाकिस्तानले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनायो । पाकिस्तानका लागि कप्तान इरफान खानले अविजित ४२ रन बनाए भने अब्दुल समाद २६, मोहम्मद वासिम २३, यासिर खान १८ र मेहरन मुम्ताजले १० रन जोडे ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट तथा कुशल भुर्तेलले १ विकेट लिए ।
१४५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले पूरा २० ओभर खेले पनि ७ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४४ बलमा ६ चौका र १ छक्काको मद्दतले सर्वाधिक ५२ रन जोडे । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ शेखले २७ र लोकेश बमले १० रन बनाए ।
पाकिस्तानका लागि मोहम्मद वासिम र फैसल अकरमले समान २ विकेट तथा मोहम्मद सलमानले १ विकेट लिए ।