आर्थिक विधेयक पास भएको एक महिनामै कर दर हेरफेर गरेमा माओवादीको आपत्ति

आर्थिक विधेयक पास भएको एक महिनामै कर दर हेरफेर गरेमा माओवादीको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारले संसदलाई छलेर आर्थिक विधेयक पारित भएको एक महिनामै करका दर परिवर्तन गरेको आरोप लगाएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सलाई उत्पादनका लागि आवश्यक काठको भन्सार शुल्क, सुख्खा तथा पेय पदार्थका जुसमा तोकिएको ३५ प्रतिशत अन्तःशुल्क, र औषधि प्याकेजिङमा प्रयोग हुने बोतलमा लगाइएको अन्तःशुल्क घटाइएको खुलासा गरेका हुन्।

उनले भने, “संसद चलिरहेको छ, भर्खरै आर्थिक विधेयक पास भएको छ, तर पहिलो चौमासिकमै सरकारले करका दर हेरफेर गरेको छ। यसरी संसदलाई छलेर अन्तर्राष्ट्रिय कर सिद्धान्त विपरीत गरिएको कार्य आर्थिक अपराध हो।”

पुनले करसम्बन्धी यो निर्णयबारे सरकारले संसदलाई तत्काल जानकारी दिनुपर्ने माग गर्दै अर्थमन्त्रीको असक्षमता यसले पुष्टि गर्ने दाबी गरे।