प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएपछि सर्वोच्चमा सुनुवाइ आज

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएपछि सर्वोच्चमा सुनुवाइ आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ।

बिहीवार अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा प्रधानमन्त्री ओली अहिले कामचलाउ सरकारको हैसियतमा रहेको दाबी गर्दै नयाँ सरकार गठनको प्रक्रिया तुरुन्त अघि बढाउन माग गरिएको छ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार रिट हिजो दर्ता भएको हो। उक्त रिटमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभाका सभामुख, संघीय संसद सचिवालय र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ।

संविधानको धारा १००(२) अनुसार, सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुपर्ने प्रावधान छ। तर ओली नेतृत्वको सरकारले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले असार ३१ मा र नागरिक उन्मुक्ति पार्टीले असार २२ मा समर्थन फिर्ता लिएपछि पनि विश्वासको मत लिएको छैन।

रिटमा कामचलाउ सरकारले दूरगामी तथा नीतिगत निर्णय नगर्न अन्तरिम आदेश पनि माग गरिएको छ। यससम्बन्धी सुनुवाइ आज सर्वोच्च अदालतमा हुने तय भएको छ।