

काठमाडौँ । सरकारले ल्याएको भूमि विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार बहुमतले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ पारित गरेको हो ।
विधेयकमाथि लामो समयदेखि सत्तारूढ दल नेपाली कांग्रेस र एमालेबीच विवाद रहँदै आएको थियो । तर, अन्ततः दुवै दलले समर्थन गरेपछि विधेयक पारित भएको हो । माओवादी केन्द्र र रास्वपाका सांसद भने असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएका छन् । उनीहरूले प्रतिवेदन अध्ययन गर्न समय मागेका थिए, तर तत्काल पारित गर्ने निर्णय भएपछि असहमति जनाउँदै बाहिरिएका हुन् ।
घडेरी, आवास वा अपार्टमेन्ट बनेको अवस्थामा बिक्री गर्न पाइने व्यवस्था।
हदबन्दीभन्दा बढी जग्गा लिएकाे भए सोही प्रयोजनमा मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था।
सुकुम्बासी र अव्यवस्थित बसोबासीकाे व्यवस्था छुट्ट्याइने प्रावधान।
अव्यवस्थित बसोबासीलाई यकिन गर्ने प्रावधान।
भूमि विधेयक पारित भएपछि अब यो पूर्ण बैठक (फुल हाउस) मा पेस गरिनेछ। तर, माओवादी र रास्वपाको असहमति तथा ‘भूमि व्यापारीकरणको आशंका’ जस्ता प्रश्नले विधेयकलाई कार्यान्वयनमा लैजाँदा थप बहस र विवाद जारी रहने देखिन्छ।