फरक मतका बीच विद्यालय शिक्षा विधेयक समितिबाट पारित

फरक मतका बीच विद्यालय शिक्षा विधेयक समितिबाट पारित

काठमाडौं । माओवादी केन्द्रसहित तीन दलको असहमति बीच विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ।

प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको हो। माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले फरक मत दर्ता गराएका छन्।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत र महिन्द्र राय यादवले असहमति जनाए भने रास्वपाकी सांसद सुमना श्रेष्ठ र राप्रपाकी सांसद बिना जैसवालले पनि फरक मत राखेका हुन्।

विधेयकमा लामो समयदेखि विवादमा रहँदै आएको आवासीय विद्यालयमा छात्रवृत्ति निर्धारणको विषयमा अन्ततः सहमति जुटेको छ। सरकारले प्रस्ताव गरेको २.५ प्रतिशतलाई बढाएर ३ प्रतिशत छात्रवृत्ति दिने प्रावधानमा सहमति भएको समितिले जनाएको छ।

समितिका सभापति अम्मरबहादुर थापाका अनुसार यो विधेयक करिब नौ महिना अघि, २०८१ मंसिरमा समितिमा दर्ता भएको थियो। अब पारित विधेयक प्रतिनिधि सभा बैठकमा पेश गरिनेछ।