

काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठकमा राप्रपा र एमाले सांसदबीच भनाभन भएको छ । राप्रपा सांसद रोशन कार्कीले “खाली कागजमा सही गराउने पार्टी र सांसदलाई धिक्कार छ” भन्दै अभिव्यक्ति दिएपछि एमाले सांसद सूर्य थापाले नियमापत्ति जनाए ।
थापाको आपत्ति उठेपछि सभामुख देवराज घिमिरेले विषय स्पष्ट पार्न आग्रह गरे । त्यस क्रममा कार्कीले थापामाथि कटाक्ष गर्दै भनिन्, “उहाँको बानी नै त्यस्तै हो, जेमा पनि बुरुकबुरुक हुनुहुन्छ । उहाँलाई बोल्न दिनुस्, त्यसपछि म मेरो कुरा राख्छु ।”
आफ्नो भनाइ राख्दै थापाले संसदमा लान्छनापूर्ण र आरोपपूर्ण अभिव्यक्ति निषेध गर्नुपर्ने बताउँदै त्यसलाई रेकर्डबाट हटाउन माग गरे । उनले थपे, “हामी मण्डलेकरणविरुद्ध लडेर आएका हौं, कस्ता कागजमा सही गर्छौं भनेर जानेर बुझेर मात्रै गर्छौं ।”
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले मंगलबार आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षर गर्न निर्देशन दिएपछि विपक्षी दल र सांसदहरूले तीव्र आपत्ति जनाएका छन् ।