

काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)मा उत्कृष्ट नतिजा ल्याएका छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने तयारी गरेको हो।
मन्त्रालयका अनुसार लिसा प्रणाली गाउँपालिका/नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको मूल्याङ्कन गर्ने, शासकीय प्रक्रिया तथा विकास व्यवस्थापनमा सुधारका क्षेत्र पहिचान गर्ने, आवधिक समीक्षाको आधार तयार गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ।
गुणस्तर परीक्षण सम्पन्न भएपछि सार्वजनिक अन्तिम नतिजा अनुसार राष्ट्रिय स्तरमा उच्चतम अंक ल्याउने स्थानीय तहलाई यसपालि सम्मान गर्न लागिएको हो।
मन्त्रालयले प्रकाशित नतिजाअनुसार सम्मान पाउने स्थानीय तहमा चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिका रहेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा हुने कार्यक्रममा सम्मानसँगै स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको औपचारिक शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ।