

काठमाडौं। संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयासको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन्।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने षडयन्त्र गरेको भन्दै विपक्षी दलहरूले एकमतवद्ध भएर प्रतिवाद गर्ने निष्कर्ष निकालेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। उनले संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक–पटक उपसभामुखलाई हटाउने प्रयास राष्ट्रका लागि उचित नभएको पनि उल्लेख गरे।
त्यस्तै, रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बैठकमा उपसभामुखलाई हटाउने र संसदको कार्यशक्ति कमजोर पार्ने प्रयासविरुद्ध विपक्षी दलहरू एक भएर प्रतिरोध गर्ने निर्णय भएको जानकारी दिए।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखलाई हटाउने प्रयास कुनै हालतमा सफल हुन नदिने निर्णय भएको बताए।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पनि विपक्षी दललाई कमजोर पार्न गरिने सबै प्रकारका षडयन्त्रको सामना गर्नुपर्नेमा जोड दिए।