कांग्रेस–एमाले सांसद आकस्मिक रूपमा दलकाे कार्यालयमा किन बोलाइए ?

कांग्रेस–एमाले सांसद आकस्मिक रूपमा दलकाे कार्यालयमा किन बोलाइए ?

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारीस्वरूप नेपाली कांग्रेस र नेकपा एमालेले मंगलबार आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्।

नेपाली कांग्रेसले दिउँसो १२ बजेभित्र सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित हुन भनेको छ भने एमालेले आफ्ना सांसदलाई बिहान १०:३० बजे नै दलको कार्यालयमा भेला हुन आह्वान गरेको छ।

सांसदहरूलाई आकस्मिक रूपमा बोलाइएको कारण स्पष्ट खुलाइएको छैन। तर, संसदमा विचाराधीन विवादित विधेयकका विषयमा धारणा बनाउन र उपसभामुखविरुद्ध महाअभियोग प्रस्तावमा हस्ताक्षर गराउन बैठक बोलाइएको अनुमान गरिएको छ।

रानामगरले संसद सचिवालयको लेटरप्याड प्रयोग गरी विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा छानबिनको माग भइरहेको छ। संवैधानिक परिषद्को सदस्यसमेत रहेकी उनलाई हटाउने प्रयास यसअघि पनि भएको थियो।

कांग्रेसको परिषद्मा प्रतिनिधित्व नभएको वर्तमान अवस्थामा एमाले र कांग्रेस दुवै दलले मिलेर महाअभियोग अघि बढाउने संकेत देखिएको छ।