टप इन्ड टी–२० सिरिज : लगातार तीन हार बेहाेरेकाे नेपाल आज होबार्ट हरिकेन्सविरुद्ध खेल्दै

टप इन्ड टी–२० सिरिज : लगातार तीन हार बेहाेरेकाे नेपाल आज होबार्ट हरिकेन्सविरुद्ध खेल्दै

काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आज (मंगलबार) आफ्नो चौथो खेल होबार्ट हरिकेन्सविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

होबार्ट हरिकेन्स नेपालका लेग स्पिनर सन्दीप लामिछानेको पूर्वक्लब हो। सन्दीपले आज आफ्नै पूर्वफ्रेन्चाइज टोलीविरुद्ध मैदान प्रवेश गर्ने भएका छन्।

अघिल्ला तीनै खेलमा हार व्यहोरेको नेपाल पहिलो जितको खोजीमा छ। सोमबार मेलबर्न स्टार्ससँगको खेलमा नेपाल ३१ रनले पराजित भएको थियो। त्यसअघि दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले र पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको थियो।

लगातार तीन हारपछि नेपाल अंकविहीन रहँदै तालिकाको १०औँ स्थानमा छ। होबार्ट हरिकेन्स भने तीन खेलमध्ये एकमा जित र एकमा हार दर्ता गर्दै २ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ।

सिरिजमा नेपालले जम्मा ६ खेल खेल्ने कार्यक्रम छ। आज हुने खेल नेपालका लागि चौथो हो, जहाँ जित दर्ता गर्दै सिरिजमा पहिलो अंक जोड्ने लक्ष्य रहेको छ।