नेपालमा रूबेला निवारण भएकाे डब्ल्यूएचओद्वारा घोषणा

नेपालमा रूबेला निवारण भएकाे डब्ल्यूएचओद्वारा घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा बालबालिकाका लागि प्राणघातक मानिने रूबेला रोग निवारण भएको घोषणा गरेको छ। यससँगै नेपाल विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौँ मुलुक बनेको छ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालको खोप कार्यक्रम, रोग निगरानी प्रणाली र उपलब्ध तथ्याङ्कको समीक्षा गर्दै नेपालले रूबेला उन्मूलनमा सफलता पाएको प्रमाणित गरेको हो। यस उपलब्धिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई क्षेत्रीय कार्यालय प्रमुख डा. क्याथरिना बोएह्मले सोमबार औपचारिक पत्रमार्फत बधाई दिएकी थिइन्।

नेपालले सन् २०१२ मा नौ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो। सन् २०१६ मा खोपको दोस्रो मात्रा पनि तालिकामा थप गरियो। भूकम्प, कोभिड–१९ लगायतका चुनौतीका बीच २०१२, २०१६, २०२० र २०२४ मा सञ्चालन गरिएका खोप अभियानहरूले जीवनरक्षक खोपमा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् २०२४ सम्ममा नेपालले पहिलो मात्रा ९५ प्रतिशत भन्दा बढी बालबालिकामा पुर्‍याउन सफल भएको तथ्याङ्कमा उल्लेख छ।

रूबेला, दादुरा जस्तै देखिने र भाइरस संक्रमणबाट हुने अति सङ्क्रामक रोग हो। विशेषगरी गर्भवती महिलामा यो रोग खतरनाक हुन्छ, जसका कारण गर्भपतन, मृत शिशु वा दीर्घकालीन अपाङ्गता जस्ता जटिलता उत्पन्न हुन्छन्। सुरक्षित र प्रभावकारी खोप भने यस रोगको प्रभावकारी रोकथामका रूपमा स्थापित भएको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालले क्षेत्रीय लक्ष्यभन्दा अगाडि रूबेला निवारण गरेर राष्ट्रिय खोप कार्यक्रमको सफलताको प्रमाण दिएको बताए। उनले भने, “यो उपलब्धि नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरूको लगनशिलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निरन्तर सहयोग र जनसमुदायको सक्रिय सहभागिताको परिणाम हो।”

डब्ल्यूएचओ नेपाल कार्यालयका प्रमुख डा. राजेश सम्भाजिराव पाण्डवले नेपालले हासिल गरेको प्रगति जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक भएको भन्दै भविष्यमा पनि यस उपलब्धि कायम राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यसअघि भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का र टिमोर–लेस्टेले रूबेला निवारणमा सफलता पाइसकेका थिए। डब्ल्यूएचओले सन् २०२६ भित्र दक्षिण–पूर्वी एसिया क्षेत्रका सबै मुलुकबाट दादुरा र रूबेला निवारण गर्ने लक्ष्य लिएको छ।