सिद्धान्त र समर्पणका कारण कांग्रेसको विकल्प छैन : प्रवक्ता महत

सिद्धान्त र समर्पणका कारण कांग्रेसको विकल्प छैन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिद्धान्त, नीति र समर्पणका आधारमा कांग्रेसलाई चुनौती दिने अर्को पार्टी नभएको दाबी गरेका छन्।

कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रममा बोल्दै उनले नयाँ वा अन्य पार्टीको तुलनामा कांग्रेस नै उत्तम भएको बताए। महतले भने, “कुनै दुविधा राख्न आवश्यक छैन। ढुक्क भएर लाग्नुस्। कांग्रेस अहिले पनि सान्दर्भिक छ र भोलि पनि रहन्छ। अहिले पनि सिद्धान्त, नीति र समर्पणले चुनौती दिने अर्को पार्टी छैन।”

उनले ‘मिसन ०८४’ सफल पार्न एक्लै लाग्नुपर्ने तर व्यवहारिक रूपमा बहुमत ल्याउन चुनौतीपूर्ण रहेको उल्लेख गरे। “तर पनि सर्वाधिक लोकप्रिय पार्टी बनाउने उत्साहका साथ लाग्नुपर्छ,” उनले जोड दिए।

महतले कांग्रेस संगठनमा कमजोरी रहेको र व्यक्तिवाद हावी भएको स्वीकार गरे। साथै, अहिले सामाजिक सञ्जालमार्फत कांग्रेससहित अन्य पार्टीलाई कमजोर देखाउने भ्रम फैलाइरहेको भन्दै त्यसको प्रतिवाद गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, “अहिले झूटो कुराको प्रचार भइरहेको छ। सत्य कुरा बोल्ने उल्टै गाली खाने अवस्था छ। अब सामाजिक सञ्जालमा होस् वा जनताको बीचमा, सत्य बोल्न थाल्नुपर्छ।”

त्यस्तै, एमालेसँग सहकार्यबारे प्रष्ट पार्दै उनले बाध्यतावश सरकार बनाउन मिल्नुपरेको बताए। पार्टीभित्र असन्तुष्ट स्वरबारे उनले भने, “अरूसँग मिलेर सरकार बनाउन परेपछि सबै त कहाँ पाइन्छ। ५० प्रतिशत भए पनि हुन्छ भनेर गएका हौँ नि। एक्लै बनाउने अवस्था छैन। नेतृत्वले आवश्यक अडान लिएको छ।”