टप इन्ड सिरिजमा नेपालको लगातार तेस्रो हार

टप इन्ड सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो ।

पहिलो ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७५ रन बनायो । ब्लेक म्याकडोनाल्डले ७४ तथा थोमस रोजर्सले ६५ रन बनाएर दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरेका थिए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शाहब आलमले १–१ विकेट हात पारे । अन्य दुई खेलाडी रनआउट भए ।

१७६ रनको लक्ष्य पछ्याउन ओर्लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । ओपनर आसिफ शेखले ४९ बलमा ३ चौका र १ छक्कासहित अर्धशतक प्रहार गर्दै ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ तथा कुशल भुर्तेलले २५ रन जोडे ।

नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ३० रनको सुरुवात दिलाएका थिए । तर, भुर्तेल २५ रनमा आउट भएलगत्तै भिम शार्की १ रनमा पभेलियन फर्किए । त्यसपछि आसिफ र कप्तान रोहितले तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, दुबै ब्याटर लगातार आउट भएपछि नेपाल दबाबमा पर्‍यो र अन्ततः लक्ष्य पछ्याउन असफल रह्यो ।

मेलबर्नका अस्टिन अन्लेजार्क र डग वारेनले समान २–२ विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमा एनटी स्ट्राइकरसँग र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग पराजित भएको थियो । अब नेपालले आगामी खेलमा होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।