

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–७ स्पेसलचोकस्थित सडकमा आइतबार राति मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल राति करिब पौने २ बजे एक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुष गम्भीर घाइते भई उपचारका लागि शिक्षक अस्पताल पुर्याइएकोमा राति सवा २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकमध्ये एक जनाको सनाखत अझै नभएको र आफन्तको खोजी भइरहेको बुढानीलकण्ठ प्रहरी प्रवक्ताले बताएका छन्।
यस्तै, गोरखा आरुपोखरी घर भई हाल बुढानीलकण्ठ–८ भंगाल बस्ने २४ वर्षीय एरिक परियारसहित नाम, थर र वतन नखुलेका २८–३० वर्षका पुरुष र ३०–३२ वर्षका पुरुष घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। साथै, मृतक र घाइतेका आफन्तलाई खोजी कार्य जारी रहेको जनाएको छ।