

काठमाडौँ । कर्जा लगानीमा सुधार नभएको कारण वाणिज्य बैंकहरूले भदौ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्।
२० वाणिज्य बैंकमध्ये ८ वटाले सामान्य रूपमा ब्याजदर घटाएका छन् भने ११ वटाले साउन महिनाकै दर यथावत् राखेका छन्। ब्याजदर घटाउने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, सानिमा, एभरेष्ट, कुमारी, सिद्धार्थ र कृषि विकास बैंक रहेका छन्।
भदौमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा धेरै १.१३ प्रतिशतले घटाएको छ। साउनमा ६.२६ प्रतिशत रहेको ब्याजदरलाई घटाएर ५.१३ प्रतिशतमा ल्याइएको हो। अन्य सात बैंकले ०.५ प्रतिशतदेखि ०.१ प्रतिशतसम्म ब्याजदर घटाएका छन्।
प्रभु बैंकले भने भदौ महिनाका लागि ब्याजदर १.१ प्रतिशतले बढाएको छ। साउनमा व्यक्तिगत निक्षेपमा ४.२५ प्रतिशत ब्याज दिने बैंकले भदौमा ५.३५ प्रतिशत तोकेको छ।
समग्रमा साउनको तुलनामा भदौमा व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर ५.५७ प्रतिशतमा झरेको छ, जुन साउनको तुलनामा ०.१५ प्रतिशत कम हो।