१ अर्ब ४६ करोडले घट्यो विद्युत प्राधिकरणको नाफा

१ अर्ब ४६ करोडले घट्यो विद्युत प्राधिकरणको नाफा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ४६ करोड रुपैयाँले घटेको छ । प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणअनुसार सोही वर्षमा कर अघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रह्यो, जुन आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो । अघिल्लो वर्ष प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

२०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँको नोक्सानी बेहोरेको प्राधिकरण त्यसयता निरन्तर नाफामा रहँदै आएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले बढ्दै ६ खर्व ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । सरकारी अनुदान, सडकबत्ती अनुदान तथा ट्रङ्कलाइन बक्यौता बाहेक प्राधिकरणको औसत संकलन अवधि ४५.८४ दिन रहेको उल्लेख गरिएको छ ।

समीक्षा वर्षमा ५ एम्पियर क्षमतासम्मका करिब २० लाख ७३ हजार ५१४ ग्राहकलाई १७ करोड ६७ लाख ११ हजार युनिट विद्युत निःशुल्क वितरण गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ४४ पैसा रहेको छ । अनलाइन भुक्तानीमार्फत संकलन अघिल्लो वर्षको २७ अर्ब ४४ करोड रुपैयाँबाट बढेर २०८१/८२ मा ३४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।