

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने तय भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहभागीमध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजक रहनेछन् । २०७८ सालमा चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूमात्रै विधान महाधिवेशनमा सहभागी हुने भएकाले कतिपय केन्द्रीय सदस्य आयोजकको रूपमा रहने जनाइएको छ । प्रतिनिधिहरूलाई डिजिटल कार्ड उपलब्ध गराइनेछ ।
महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरीसम्मका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्ने निर्णय भएको छ । यसमा बागमती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरू सहभागी हुनेछन् ।
महाधिवेशन स्थलमा करिब ३ सय स्वयंसेवक परिचालन गरिने तयारी छ । स्वयंसेवक परिचालनको जिम्मा युवा संघ, खेलकुद महासंघलगायतका जनसङ्गठनलाई दिइएको छ । सञ्चार माध्यमलाई सहजताका लागि स्थलमै व्यवस्थित न्यूज डेस्क स्थापना गर्ने र रिपोर्टिङका लागि पासको व्यवस्था गर्ने निर्णय पनि भएको छ ।
महाधिवेशनको मूल नारा छिट्टै सार्वजनिक गरिनेछ । साथै प्रचार–प्रसारलाई तीव्र बनाउन फ्लायर र भिडियो सामग्री उत्पादन गरी सामाजिक सञ्जालमार्फत व्यापक बनाइने तयारी गरिएको छ ।
सहभागी प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवास व्यवस्थापन आफैंले गर्नुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक यातायातको प्रबन्ध पार्टीका विभिन्न कमिटीहरूले गर्नेछन् भने स्वास्थ्य सुरक्षाका लागि स्थलमा तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिनेछ ।
एमालेले भदौ १० गतेसम्म मातहतका कमिटीलाई विधानबारे सुझाव दिन समय दिएको छ । सबै प्रदेशबाट प्राप्त सुझावलाई समेटेर राजनीतिक प्रतिवेदन तयार पारिनेछ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, विधान संशोधन प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नेछन् ।
व्यवस्थापन समितिको बैठकमा महासचिव पोखरेलले एमालेलाई एकताका साथ अघि बढाउने अवसरको रूपमा महाधिवेशनलाई लिन आग्रह गर्दै, सबैलाई जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्न निर्देशन दिएका छन् ।
एमालेले आजदेखि विधान महाधिवेशनको दिनगन्ती (काउन्टडाउन) सुरु गर्ने तयारी गरेको छ । महाधिवेशन सुरु हुन अब १९ दिन मात्र बाँकी छ ।