टप एन्ड टी-२० सिरिज : बंगलादेश ‘ए’सँग नेपाल फेरि पराजित

टप एन्ड टी-२० सिरिज : बंगलादेश ‘ए’सँग नेपाल फेरि पराजित

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। आइतबार भएको खेलमा नेपाल बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भयो।

डार्विनस्थित डिएक्ससी एरिनामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रनको योगफल बनायो। त्यसका लागि ओपनर जिसान आलमले ७३ रनको योगदान दिए भने आतिफ होसेनले अविजित ४८ रन बनाए। आलमले ४६ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।

नेपालका बलरमध्ये रिजन ढकालले २ विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले समान १–१ विकेट हात पारे। जवाफी ब्याटिङमा १८७ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रनमा रोकियो। नेपालका लागि कुशल मल्लले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्दै अविजित ५९ रनको योगदान दिए। उनले नन्दन यादवसँग आठौं विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए। नन्दन १४ रनमा नटआउट रहे।

नेपालका ओपनर आसिफ शेखले २८ रन, कुशल भुर्तेलले १२, लोकेश बमले १५, कप्तान रोहित पौडेलले १०, करण केसीले ७, दीपेन्द्र सिंह ऐरीले १ रन बनाउँदा गुलशन झा खाता खोल्नै सकेनन्। बंगलादेशका बलरमध्ये रकिबुल हसनले ३ विकेट लिए भने हसन महमुदले २ तथा रिपोन मण्डल र टोफेल अहमदले समान १–१ विकेट हात पारे।

यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। पहिलो पटक टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाएको नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ। अब नेपालले मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।