कारागारको भित्तामा रविले लेखे – ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ’

कारागारको भित्तामा रविले लेखे – ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक प्रतिशोधका कारण आफूलाई मंगलग्रहसम्म लगे पनि नडराउने बताएका छन्।

रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आउने क्रममा भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झासँगको भेटमा उनले यस्तो धारणा राखेका हुन्।

भेटपछि प्रवक्ता झाले रविको आत्मबल उच्च रहेको बताए। उनले भने, “सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार देखिएका सभापति लामिछानेलाई कारागार स्थानान्तरणले कुनै त्रास थपेको छैन। कुनै डर छैन, केही भएको छैन।”

भैरहवामा १२६ दिन बिताएको स्मरण गर्दै लामिछानेले सबैप्रति आभार प्रकट गरे। उनले भने, “पुरै नेपाल मेरो घर हो, सबै नेपाली मेरा आफन्त हुन्। भैरहवाको आमा-बुबा, दाजुभाइ-दिदीबहिनीप्रति कृतज्ञ छु। मलाई सुरक्षा दिने सुरक्षाकर्मी, खाना–पानीको व्यवस्था गर्ने कारागार प्रशासन सबैलाई धन्यवाद छ।”

उनले राजनीतिक प्रतिशोध जसरी भए पनि भोग्न तयार रहेको स्पष्ट पारे। “म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु — अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ। ४६३ दिनअघि एक जनाले प्रमाण छ भने, मैले प्रमाण माग्दा उसले बल प्रयोग देखायो। मैले न्याय माग्दा उसको संयन्त्रले प्रतिशोध साध्यो। तर पनि म भयभीत छैन,” उनले भने।

लामिछानेले आफू जनताको अदालतमा विश्वास गर्ने र परिवर्तनका लागि सबै त्याग गर्न तयार रहेको बताए।