मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी आज देशभर श्रीकृष्णजन्माष्टमी पर्व श्रद्धा र भक्तिभावसाथ मनाइँदै छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ। त्यसैले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनेर चिनिन्छ। आज देशभरका कृष्ण मन्दिरमा विशेष पूजा, प्रवचन, भजन–कीर्तनसहित भक्तजनहरूले व्रत बसी जाग्राम बस्ने परम्परा रहिआएको छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा अवतरण गरेका श्रीकृष्णले आजीवन सत्य, धर्म र सत्कर्मको मार्गदर्शन गरेका थिए। कुरुक्षेत्रको युद्धमा अर्जुनलाई प्रदान गरिएको उपदेशमार्फत व्यक्त ‘श्रीमद्भागवत गीता’ लाई आज विश्वकै सर्वाधिक भाषामा अनुवाद गरिएको पवित्र ग्रन्थ मानिन्छ।

बाल्यकालदेखि नै विविध लीला प्रदर्शन गर्दै आएका श्रीकृष्णले कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थहरूमा उल्लेख छ।

पर्वको अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लागेको छ। त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाम, बूढानीलकण्ठस्थित इस्कोन मन्दिर र राजधानीका अन्य मठमन्दिरमा समेत भक्तजनको भीड लागेको छ।

यस अवसरमा काठमाडौंका विभिन्न धार्मिक सङ्घ–संस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने परम्परा पनि निरन्तर चलिआएको छ।