

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले अमेरिकी सरकारसँगको संयुक्त लगानीमा सञ्चालित ‘एमसिसी कम्प्याक्ट’अन्तर्गत विद्युत् प्रसारण आयोजना अघि बढाउने क्रममा दुई महत्वपूर्ण निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ।
प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्रमार्फत रातमाटे–नयाँ दमौली प्रसारणलाइन निर्माण सम्झौता एञ्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरिएको हो। १५.४५ करोड अमेरिकी डलर लागतका यी परियोजनाअन्तर्गत १८० किमी लामो ४०० केभी प्रसारणलाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन गरिनेछ।
अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसिसीका कार्यवाहक उपाध्यक्ष, अमेरिकी दूतावासका अधिकारी र सरोकारवालाको उपस्थितिमा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुवै कम्पनीका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
अमेरिकी अधिकारीहरूले यो सम्झौतालाई नेपालमा विद्युत् आपूर्ति र विश्वसनीयता सुधार्ने, क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि गर्ने र दीर्घकालीन आर्थिक विकासमा टेवा पुग्ने महत्वपूर्ण कदमका रूपमा वर्णन गरेका छन्। नेपाल सरकारका प्रतिनिधिहरूले अमेरिकी सहयोगको सराहना गर्दै आयोजना सफल कार्यान्वयनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण र सडक मर्मत आयोजनामा ६९ करोड ७० लाख अमेरिकी डलरको ऐतिहासिक लगानी भइरहेको छ, जसले पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार र यातायात सञ्जाल सुधारमार्फत आर्थिक वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।