

हेटौंडा । संघीय सरकारले बागमती प्रदेशका पाँच जना प्रदेश सचिवको एकैपटक सरुवा गरेको छ। गत सोमबार (२६ साउन) बसेको मन्त्रिपरिषद् बैठकले ७२ जना सहसचिवको सरुवामा बागमती प्रदेशका पाँच सचिव परेका हुन्।
प्रदेश सचिवको दीर्घकालीन अभाव झेलिरहेको बागमतीमा सरकारले चार जना मात्र नयाँ सचिव पठाएको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा, सामाजिक विकास मन्त्रालयका सचिव बिनु बज्राचार्य कुंवर गृह मन्त्रालयमा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर रानामगर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालयका सचिव मोहनकुमार शाक्य कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन्।
यससँगै सरकारले अन्य प्रदेश र संघ सरकार मातहतका कार्यालयमा कार्यरत चार जना सहसचिवलाई बागमती प्रदेश सचिवको रूपमा पठाएको छ। कर्णाली प्रदेशका सचिव इन्द्रदेव भट्ट, त्यहीँको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा, मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंका पार्वती शर्मा र लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्रालयका सचिव बलराम ढकाल बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापित भएका छन्।