१० वर्षमा चार पार्टी फेरेर माओवादीमै फर्किए गंगानारायण श्रेष्ठ, सचिव पदको जिम्मेवारी

१० वर्षमा चार पार्टी फेरेर माओवादीमै फर्किए गंगानारायण श्रेष्ठ, सचिव पदको जिम्मेवारी

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ अन्ततः पुनः माओवादी केन्द्रमै फर्किएका छन्। पार्टी समायोजनको प्रक्रियामार्फत् फर्किएका श्रेष्ठलाई नेकपा माओवादी केन्द्रले केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ। ललितपुरको ग्वार्कोमा आयोजित विशेष कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

पछिल्ला १० वर्षमा चार फरक राजनीतिक दलको यात्रा तय गरेका श्रेष्ठले संविधान जारी भएपछि माओवादी परित्याग गरेका थिए। उनी डा. बाबुराम भट्टराईसँगै नयाँ शक्ति पार्टीमा गएका थिए। त्यसपछि नयाँ शक्ति पार्टी संघीय समाजवादी फोरममा गाभिएपछि श्रेष्ठ समाजवादी पार्टी नेपालको नेता बने।

समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीबीचको एकताबाट जसपा नेपाल बनेको थियो। त्यहाँबाट पुनः फुटेर बाबुरामसँगै नेपाल समाजवादी पार्टी (नेसपा) गएका श्रेष्ठले अन्ततः महेन्द्र राय यादवसँगको मतभेदपछि छुट्टै समूह लिएर माओवादीमा पुनः प्रवेश गरेका हुन्।

श्रेष्ठ माओवादी छाड्दा पोलिटब्युरो सदस्य थिए, अहिले उनी सचिव पदमा पुनः समावेश भएका छन्। उनीसँगै माओवादीको चुनाव चिह्नबाट निर्वाचित दुई जना प्रदेश सांसद पनि माओवादी केन्द्रमै फर्किएका छन्।