

हलेसी, ८ साउन । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईदेखि रुष्ट बनेका चार वडाध्यक्षसहितका स्थानीयवासीले नगरपालिका कार्यालयमा धर्ना दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित चार वडाध्यक्षको मागलाई नगरप्रमुख राईले बेवास्ता गरी नगरसभा गरेको विरोधमा उत्रिएका वडाध्यक्षसँगै २६ जनप्रतिनिधिसहितको स्थानीयवासीले दुर्छिमस्थित नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका हुन्।
केन्द्रबाट बजेट बढेर आए पनि वडालाई अघिल्लो वर्षको तुलनामा कम बजेटको सिलिङ दिएको तथा टोलबस्तीबाट प्राथमिकीकरण गर्दै ल्याइएका वडास्तरीय योजनालाई लत्याइएको भन्दै वडा नं २ डिकुवाका वडाध्यक्ष हरिकुमार खड्का, वडा नं ३ च्यास्मिटारका वडाध्यक्ष भलाराज राई, वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी र वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले नगरसभा बहिष्कारको घोषणा गरेका थिए।
उनीहरुले नगरसभा बहिष्कार गरेको हप्ता दिनपछि मङ्गलबार दिउँसो करीब एक घण्टा धर्ना दिएका हुन्। चार वडाध्यक्षले आर्थिक वर्ष २०७४-७५ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आव २०७५-७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राखे पनि बेवास्ता गरिएकाले धर्ना दिइएको वडा नं ७ का वडाध्यक्ष राईले बताए।
सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको उनीहरुको जिकिर छ।
आफ्नो मागलाई बेवास्ता गरेपछि आफूहरु असार ३१ गतेको चौथो नगरसभा टुङ्गिनुअगावै बाहिरिएको दुर्छिमका वडाध्यक्ष तिवारीले बताए। चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान ६ बजेदेखि ७ बजेसम्म हलेसीमा र दिउँसो १ बजेदेखि २ बजेसम्म च्यास्मिटारमा एक-एक घण्टा चक्काजाम गर्ने जनाएका छन्।
नगरप्रमुख राईले वडाको सिलिङमा उल्लेख भएअनुसारको योजना हुबहु पास गरिएकाले विरोध गर्नुको औचित्य नभएको बताए। “विरोधका लागि विरोध हो भने त्यसको कुनै औचित्य छैन”, उनले भने, “महालेखा परीक्षकको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले सार्वजनिक गर्ने हो। तत्काल सार्वजनिक गर्न निर्देशन दिएको छु। रह्यो वार्षिक प्रगति समीक्षा। उहाँहरुसमेतको सहभागितामा बसिएको कार्यपालिकाको बैठकले साउन महीनाभित्र गर्ने निर्णय भएको छ।” नगरप्रमुख राई र उपप्रमुख विमला राई नेपाली कांग्रेसबाट निर्वाचित हुन्। जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको उक्त नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ। रासस