पत्रकार पक्राउ प्रकरणमा प्रेस काउन्सिलको आपत्ति, कानुनी आधारबिना नियन्त्रणमा नराख्न माग

पत्रकार पक्राउ प्रकरणमा प्रेस काउन्सिलको आपत्ति, कानुनी आधारबिना नियन्त्रणमा नराख्न माग

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ। प्रेस काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ।

काउन्सिलका अनुसार कार्यालय समय सकिएपछि सादा पोसाकका प्रहरीले सञ्चारमाध्यमका समाचार कक्षमा पुगेर पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको थियो।

पत्रकार पक्राउ गर्नुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिनु आपत्तिजनक रहेको काउन्सिलले जनाएको छ।

प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रताको संवैधानिक तथा व्यावसायिक अधिकारमाथि चुनौती थपेको काउन्सिलको ठहर छ।

सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको विज्ञप्तिमा उल्लेख छ। त्यसैले समाचारकै विषयमा सिधै प्रहरी परिचालन नगर्न काउन्सिलले सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न पनि काउन्सिलले माग गरेको छ। काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नसमेत आग्रह गरेको छ।

प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनमा काउन्सिल सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।